सुरेश राज सुनुवार \'अन्जानयात्री\'
खै हाम्रो आ
फ्नो नेपालीपनआधुनिक सभ्यताको हावासँगै बहेर
बैरीसँग हातेमालो गर्दै,
रङ्गी बिङ्गी बत्तीको झ्ल्याक झुलुकमा
कल्पनाको महलमा दिवा स्वप्न देख्नेहरु
कुल्ची सक्यो टोपीहरु अनि
च्याती सक्यो चौबन्दी र फरियाहरु
लोकभाकासँगै रिमिक्स र पप संगित मुछिएको छ
मादल सारङ्गीको तान खुकुलिएको छ
खै कस्ले उठाई दिने हो
कुल्चिएका अस्तित्वका टोपीहरु
चौबन्दी र फरियाहरु ?
सबै यहाँ र्याप र डिस्कोमा मस्त छन्
खै कस्ले सुनिदिने हो हाम्रा लोक भाकाहरु
सबै यहाँ ड्रमसेट र गितारमा मस्त छन्
लोक भाकामा संस्कृति गाउँने कलाकारहरु
आज फूटपाथमा भृटिन थालेका छन्
मलाई डर लाग्न थालीसकेको छ
भोलि नेपालीको ढुकढुकीमा नै
पश्चिमी मुलुकबाट झिकाउन त पर्दैन ?
नत्र विचार गर्नुहोस हैं
नेपालीको प्रत्येक काम काबाहिमा
विदेशीको रिमोटले श्रीगणेश गर्दैछ ।
त्यसैले मैले भन्ने गरेको छु
काठमडौंमा आन्दोलन गर्दा
दिल्ली र वसिङ्गटनबाट हेर्नुपर्छ
बालुटारमा बैठक बस्दा
भारत र अमेरिका हल्लिने गर्छ
अब प्रत्येक नेपालीमा
चेतना विजारोपण नगरे
जालो लागेको मादल र सारङ्गी नपुछे
च्यातिएको चौबन्दी र फरिया नसिलाए
कुनामा थन्काइएका टोपि नखोजे
भोली नेपालीको वकालत गर्ने नेताहरु
आज सत्ता र सौखमा डुब्न थालेका छन्
त्यसैले,
म भन्छु खै त हाम्रो पहिचान
कता हराए हाम्रा बोली र भावनाहरु
किन मौन छन् नागरिक समाजहरु ?
खै आज जीवन र जगत प्रतिको अभिलाषाहरु ???