बाबु त्रिपाठी
मैले यही देशको नुन खाएको छु
मैले यही देशको राष्ट्रियगान गाएको छु
मसँग छ यही देशको नागरिकता
तर मलाई भनिएको छ - अनागरिक
आज वषौंपछि गुनासो पोख्दैछु
मलाई बोल्न दे देश,
देश यदी देशमा
देशबिनाको मानिस हुन्छ भने ठीकै छ
मानिसबिनाको देश हुन्छ भने ठीकै छ
होइन भने देश छुट्टयाइ दे
म यो देशको नागरिक हो कि अनागरिक ?
म कसैलाई आफ्नो भन्न सक्दिन
मदेखि टाडा छन्
- मन्दिरहरू
- मस्जिदहरू
- गुम्बाहरू,
म ठूलो आपतमा छु देश
केवल मानिस हुनुमात्र होइन मेरो सम्पूर्णता
छुट्टयाइ दे देश
- मेरो जात कुन हो ?
- मेरो धर्म कुन हो ?
- मेरो रगतको रङ्ग कुन हो ?
- मेरो देश कुन हो ?
देश - तेरो सामुन्ने
म देशभित्र देशहीन भएर बाँच्न चाहन्न
र ,रुदैँरुदैँ तँलाई छोडेर जान चाहन्न प्रवासतिर,
म गीता, कुरान, बाइबल छोएर
कुनै किरिया खाँदिन देश
मैले छोएको छु माटो
म माटो छोएर भन्छु
मसँग अर्को कुनै नाम छैन
मसँग अर्को कुनै नागरिकता छैन
मसँग अर्को कुनै देश छैन ।
कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६६ मा प्रथम पुरस्कृत कविता