कविता पसलमा
कवितै, कविताको
पसल थापेर बसे
मेरा कविताहरू
रङ्गी, विरङ्गी थियो
उद्येगपति, करोडपति, सेनापति,न्यायपति, कुलपति
माथिल्लो दर्जाका
सबै आए कविता किन्नलाई
खै किन हो
किन्न चाहेनन् मेरा कविताहरू
मुख बटारेर पो फर्किए
र, उनीहरूले त
सत्ता र कवितालाई
एकै ठाउँ राखेर मन्त्रणा गरे रे !
पुनः कविता पसलमा
रिक्सावाल, गाडावाल, झाडुवाल, भारीवाल तल्लो तप्काका
सबै आए कविता किन्नलाई
थुप्रै बिके कविताहरू
झनै
एउटा अनपढ् कम्युनिष्टले त
झोलाभरी नै किने
र
प्रफुल्ल भएर फर्किए
पढिसकेर उनीहरूले
सत्ता र आफ्नो भविष्यको रेखा कोरे रे,
अनि मात्र
मलाई थाहा भयो
मेरा कविताहरू किन्ने जमात
र,
खोज्दै हिँडे म
त्यस्तै भीडहरूलाई
झोला भरी
कविता आन्दोलनका
संसार हल्लाउने भोल्यूमहरू बोकेर ...........।
कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६६ मा सान्त्वना पुरस्कृत कविता