प्रथम - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
त्यो मुन्दुमको कथा भन आमा कि यो राज्यद्वारा संरक्षित यी ग्रन्थहरू शास्त्रहरूमा या आख्यानहरू मेरा यी खिरिला आँखाहरूलाई बारम्बार जिस्काउँछन् कि यो राज्यका यी ग्रन्थहरूमा शास्त्रहरूमा या आख्यानहरूमा सुन्दर मानिएका ठूला आखाँहरूको तारो भएको छु म हो आमा, कुनै न कुनै कारणले आँखी नै भएको छु म,
जुन दिनदेखि यो राज्यले मुन्दुम् जलाएर अर्कै ग्रन्थहरूलाई हुर्कायो त्यही दिनदेखि कम्मरमा भिरेको खुर्पा जङ्गलमा फालिराखेर मन्दिरअघि लाम लागेका सुम्निमाहरू बधुशिक्षाका नङ्ग्राहरूले चिथोरिए लोग्नेको खुट्टा पखालेको पानी नुहाउन बाध्य पारिए अथवा शास्त्राहरूबाटै बलात्कृत भए त्यहि दिनदेखि छोरी जन्मदा आमाहरू रून थाले आमा, म जन्मदा तिमि पनि रोएका थियौ रे ! होइन र ?
कि त्यो बँदेलको रूपाधारी लोग्ने जसले मायाको सुन्दर बगैँचा बारबार भत्काउँथ्यो भत्काउँथ्यो प्रेमको पहाड र एउटी निर्दोष आइमाईलाई सधैँसधैँ उत्तेजित गराउँथ्यो त्यसलाई भालाले घोचेर मारेको मलाई मन पर्यो मन पर्यो त्यो मुन्दुमको कथा यो युगका प्रत्येक आइमाईहरूको तर्फबाट सलाम गर्छु म सुम्निमालाई सलाम गर्छु म सुम्निमालाई मुन्दुममा आइमाईहरू कहिले हारेको छ र ?
त्यो मुन्दुमको कथा फेरि भन आमा ! कि यो राज्यद्वारा संरक्षित यी ग्रन्थहरूमा शास्त्रहरूमा या आख्यानहरूमा जो म बारम्बार आँखाको तारो भएको छु अब मान्दिन । Author - प्रगति राई | Posted on Jan 8 2009 Thursday | Views : 9226 नेपाली साहित्य