विष्णु नेम्वाङ् सुब्बा
हात भएकाहरू
खोरण्डो भएका छन्
खुट्टा भएकाहरू
लङ्गडो भएका छन्
आँखा भएकाहरू
अन्धो भएका छन्
कान भएकाहरू
बैरो भएका छन्
जिब्रो भएकाहरू
लाटो भएका छन्
आइमाईहरू यहाँ
यस्तै भएका छन्,
हात भएकाहरूले त
धर्ती उचाल्नु पर्थ्यो
खुट्टा भएकाहरूले त
सगरमाथा चड्नु पर्थ्यो
आँखा भएकाहरूले त
जून देख्नु पर्थ्यो
कान भएकाहरूले त
आवाज सुन्नु पर्थ्यो
जिब्रो भएकाहरूले त
मुत्तिले गीत गाउनु पर्थ्यो,
केही भएको छैन
आइमाईहरू यहाँ
यस्तै भएका छन्
तपाईहरूको महाजय होस् ।
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)