शान्ता पन्त
नेपाली बहिनी र भाइ सब हो सन्देश राम्रो लिनु,
हाम्रै हो धरती मिलेर सबले आत्मा यसैमा दिनू ।
फूलेको धरणी सगन्धित हुने मिथ्या नसोँचे तिमी,
जाने है अब यो सुधारससरी बुझ्ने यही हो भनी ।।१।।
खाली हात लिएर आइ सबले जानु छ खाली पनि,
केही छैन परन्तु आखिर यहाँ मिल्नू छ मट्टी बनी ।
एकै ठाँउ मिलेर नित्य रहने साझा छ धर्ती यही ।
छाडी जानु छ एकपल्ट सबले बस्दैन कोही कही ।।२।।
सोचौं यो छ कुरा विवेक मनले मीठो छ यो सर्वदा,
बेवास्ता गर्ने सुकामहरूमा हाम्रो यही मूर्खता ।
त्यागौं आज बुझेर सूतहरूले कर्तुत पखाली सबै,
लागौं आज मिलेर मानिस सबै खाली नराखी कतै ।।३।।
पापी यो नबनी हिरण्य वयमा फिँजाऊँ सौहार्यता,
धर्तीको रुपमा भरेर सितरा देखाउँ स्वर्गीयता ।
गर्दा कर्म हटाऊँ स्वार्थपन यो मेची र कालीमहा,
रोपौं फूल गरेर गौरव थुँगा फक्रन्छ नित्यै यहाँ ।।४।।
राष्ट्रको गरिमा लिएर सबले साम्राज्य निर्माणमा,
जुट्दा हुन्छ यहाँ उदार मनले बोकेर विशिष्टता ।
रातो यो सविता उदाइकन जो आलोक दिँदा जहाँ,
प्यारो सुन्दर भूमि यो सुमनको डाली छ फूल्ने यहाँ ।।५।।