मुस्कान रहित हाँसो बोकेर ओठभरि
म जीवनका थुप्रै
दुखिया पहाडहरू उक्लने तरखरमा छु
आमा ! मलाई असाध्यै गाह्रो भइरहेछ
यसपल्ट म,
खपिनसक्नु पीडाको भारी बोकेर
यो धर्तीमा उभिनसक्छु कि सक्दिना ?
उत्साहित छन् पाइतालाहरू
जागरुक छन्
हृदय, मस्तिष्क र आवाजहरू
आमा ! म असंख्य शकुनी मनसँग
पौठेजोरी खेल्नसक्छु कि सक्दिना ?
यसबेला मेरो आँखामा
आँसुको खोलो बगिरहेछ
म त्यही आँसुको मसीले
मेरो पिर देशको छातीमा
उज्यालो रङ्गभर्ने तयारीमा छु
उपलब्धिको इन्द्रेणी
इतिहास कोर्ने तयारीमा छु,
आमा ! म जीवको फूलबारीमा
मधुरो लालटिन बालेर
रातरातभर जाग्राम बसिरहेछु,
घोचेर विसङ्गतिका तीखा काँडाहरूले
रगताम्ये भएका छन् यी हातहरू
दुखेको छ देश
आमा ! मलाई अलिकति उत्साह दिनुस्
म आकांक्षाका राता गुँरास फुलेका
यी ओठहरूले स्वाभिमानको
स्वप्निल शिखर चुम्ने तयारीमा छु
मलाई असाध्य गाह्रो भइरहेछ
अहिले म निष्पट अँध्यारो विरुद्घ
एउटा निरोध बिहान
प्रसव गर्ने तयारीमा छु ।
कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६६ मा तृतीय पुरस्कृत कविता