खुल्ला आकाश मुनि बसेर
म पहरेदारी गरिरहेँछु
इतिहासको लिखित अलिखित अध्यायहरूको
मलाई जम्मै थाहा छ
तोक र आदेशमा
कतिचोटि फर्फरायो यो देशको राष्ट्रिय झण्डा ?
क-कसले खोज्यो निभाउन
विचारका राँकाहरू ?
कहाँसम्म फैलियो
जलाइएका झुपडीहरूको गन्ध ?
झोलाभरि
देशको गीत बोकेर
कोको गएका छन् सीमानाको खोजीमा ?
क-कसले बजार्यो बुट
विधुवा र टुहुरा छातीहरूमा ?
कतिचोटि चिच्यायो
घण्टाघर
र, को को ब्यूाझिए ?
मलाई यो पनि थाहा छ
यही शताब्दीमा भत्किने छ
मालिक र दासबीचको पर्खाल
यही शताब्दीमा फेरिने छ संविधान
यही शताब्दीमा
युगले-युगलाई सुम्पिने छ नासो
यत्तिखेर
खुल्ला आकाश मुनी बसेर
म पहरेदारी गरिरहेँछु
इतिहासको लिखित अलिखित अध्यायहरूको
र, गुन्गुनाइरहेछु
यही शताब्दीमा फेरिएको
यो देशको राष्ट्रियगान ।
काठमाडौं
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६७ मा \\\"प्रथम\\\" पुरस्कृत कविता)