मनोहर घिमिरे
पाटनढोका, ललितपुर
बग्छिन् गंगा अविरल यहाँ छैन पानी सिंचाई
सुख्खा खेती न छ नहरको कृषि गर्ने विचार
मान्छे छन रे सब श्रम गुणी स्रोत लाखौं हजारौं
सोच्दैनन् रे किन किन अहो ! राजगर्नेहरू नै ।।
लाखौं छन् रे जडिबुटि यहाँ मर्छ रोगी अकालै
यत्रा खानी सुन मणिकका द्रव्य थुप्रा असाध्यै
जान्छन् लाखौं तरुण युवती काम खोज्दै विदेश
भोग्छन् पीडा कुकुर सरि ती नर्कको गाँस-वास ।।
कस्तो खोटो नियति छ यहाँ देश चुस्ने अगाडि
जान्ने बुझ्ने पठित जनता पर्छ एक्लै पछाडि
नेता हाम्रा त कठपुतली नाँच्छ साम्राज्य अर्कै
लड्ने मर्ने गरिब जनता मोज लुट्ने छ अर्कै ।।।
अर्कैले जे गर भनिदियो खेल खेल्दै रमायौ
भन्थ्यौ हावा कुन नियतले मख्ख पर्दै गुडायौ
किन्यौं सारा अपुग चिज ता बुद्वि कैल्यै किनेनौ
सारा बस्ती छ निविड अझै घाम पानी चिनेनौ ।।
खुट्टा हाम्रा तर गति भने शक्ति साम्राज्य अर्कै
आँखा हाम्रा तर पनि सधै दृष्टिनिर्देश अर्कै
हिड्लान् नेता सबल कहिले भाग्य आफै बनाइ
बुझ्लान् खै ती अबुझ कहिले देश नेपाललाई
जस्का छैनन् प्रकृति ढुकुटी स्रोत आफै बनाए
सुख्खा खाडी जरजर सबै अन्न उब्जा गराए
हाम्रो आफ्नो जन-धन सबै स्रोत त्यस्तै हराए
हाम्रा लाखौं गरिब जनले दुःख मात्रै कराए ।।