नारायणप्रसाद निरौला
पञ्चन - १ सोलुखुम्बु
कतै डाँडा-काँडा समथर सुनौला प्रकृतिका
कतै भाका-भङ्गी मधुपवनका सुन्दर छटा
जहाँ उड्छन् पन्छी चिरविर अनेकौ थरि थरि
त्यहाँ नेपालीछन् विविध बनावटी वरिपरि ।।
कतै राई लिम्बु मगध मिथिला भाषिक ध्वनि
कतै नेपालीका सुमधुर सुसेली स्वर पनि
हिमाली शेर्पाली मगर सुनुवारी पनि सबै
सबै भाषा हाम्रा अभिनव नयाँ निर्मल सँधै ।।
यही चौतारीमा हरपल म पाऔ नव कला
नयाँ रंगीचङ्गी विविध पनका पावन गाला
म चाहान्थेँ ढुङ्गा पनि अब रसाओस जगतमा
नयाँ बान्की फेर्ने सुललित सुधाहोस अब यहाँ
कुरा मात्रै बग्छन् पछि पछि छुरा चल्दछ सदा
उही राँको रन्का दनदन यसै बल्दछ सदा
रुँदै बस्छिन् आमा मलिन छ मझेरी तृणकुटी
न हेर्ने छन् कोही विरह छ सदा जीवन दुःखी ।।
सयौं भाषा भाषी विविध पनको यो वन रहोस
गरौं केही भन्ने सहृदय सुनौलो मन रहोस्
अनेकौमा एकै पन र प्रकृतिको सकलको
बनौं नेपाली नै शिर सगरमाथा शिखरको ।।