धन प्रसाद पौडेल
लैनचौर, काठमाडौं
आऊ, तिम्रै आगमनको खाँचो छ
हाम्रो राष्ट्रियता र अखण्डताको कुम्लो बोकेर
कोही अगाडि दौडिरहेको बेला
आफैले काँध थापेको पहाड भत्केर
आफै चकनाचुर हुने सम्भावना बाक्लिदै गएको बेला
त्यही अन्यौल र बचैनीको कालो कम्बलभित्र
कलम भन्दा तरवार र दरबार बलियो हुनसक्छ
त्यसैले
अमरसिंह, बलभद्रलाई लिएर आऊ
अन्याय अत्याचार भष्ट्राचारको थुप्रोलाई
देशप्रेमको सुनामीले पखाल्नु परेको छ
सुस्ता कालापानीमा सिमाना खुम्चाउँनेहरूलाई
पुर्खाको गोर्खाली खुकुरी, भाला लिएर आऊ
रोइरहेकी कोशी र गण्डकीको पानीमा
पूर्वको घमण्डी हात्तीले फुटाएको सिमाखम्बाको
सिमेन्ट घोलेर बाँध लगाउनु परेको छ
ज्ञानको चिढविलास छर्ने युगमा
रक्तपिपासुहरू उर्वर फाँटका गह्रागह्राहरू
रक्ताम्य पार्दै अहङ्कारको बाली लहराउन खोज्दैछन्
वेपत्ता पारिएका आफ्ना सन्तानको
झिनो आशाहरू बटुल्दै बसेकी आमाका
मनभित्रका गहिरा पिडाहरू
आँखाको बुई चढेर लर्को लागेको बेला
नेपाली मात्रको भावना र संस्कृति जोगाउन
भानु, सम र लेखनाथलाई लिएर आऊ
यसमा झ्याङ्गएिको ऐजेरु हटाउन
मोती, देवकोटा र कुलदीपहरूलाई लिएर आऊ
देशको रोशनी फुलाउनु परेको छ
गरिबका बस्ती बस्तीमा नाङ्गो शरिर र
भोको पेट छ
चेतनाको लुगा र खाना लिएर आऊ
विकासको सगरमाथा उभ्याउन,
क्रान्तिको मेघवर्षा
मक्किन लागेको भातृत्व र देशप्रेमलाई
जातीय, लैङ्गीक धार्मिक एकतामा गाँस्न
शान्तिको लागि बुद्घ लिएर आऊ
छिट्टै मानवताका सेता परेवा उडाउनु परेको छ
स्वार्थको लुकामारी धेरै हेरीसक्यौं
देशका लागि फेरी मरौं
चन्द्र र सूर्य अंकित हाम्रो राष्ट्रीय झण्डालाई
डिभी चिट्ठा पार्न खोज्नेसँग मुकाविला गर्न
छिट्टै देशका लागि शहिद बन्न तयार होऔं
तिमीलाई स्वागत छ म नेपाल आमाको ।