विशद
हजारौं किलोमिटरको दुरीमा
सात समुद्रपारि
एक शान्तिप्रेमी देश छ
शान्तिप्रेमी यस मानेमा छ
ऊ शान्ति चाहन्छ
ऊ पहिले देशलाई मुर्दाघर बनाउँछ
फेरि मुर्दाघरमा अन्तरिम शान्ति जारी गर्दछ
अनी आफुलाई मुर्दाघारको पाले घोषणा गर्दछ
चाहे नागासाकी र हिरोशिमा जले जलुन्
चाहे इराकमा लाखौं व्यक्ति मरे मुरुन्
ऊ पाले हो
अटल छ
त्यसैले महान छ
संसारका खप्परहरुको बजार व्यवस्थापन गर्न
ऊ खप्पीस छ
ऊ दुनीयामा शान्ति ल्याँउछ
वारुदको खोलो बगाँउछ
बन्दुकको लाम पठाँउछ
अणुबमको सन्देश निर्यात गर्छ
धम्कीको प्रेममत्र कोर्दछ
भियतनामको इतिहास बिर्सेर
ऊ आफुलाई महाशक्ति घोषणा गर्दछ
तर थाहा छ
तेज सूर्य डूब्न बेर लाग्दैन
उसले पढाएको बारुदको खोलाले
दिशा मोड्न सक्छ
उसको बन्दुकको लाम
हृवाइटहाउसतिर सोझिन सक्छ
अणुबमको सन्देश वासिङटनमा पुग्न सक्छ
धमकीको बोलपत्र
च्यातिन सक्छ
किनकि
अधिकारविहीन शान्ति
असलमा शान्ति होइन
यस्तो शान्तिमा हुने विस्फोटले
भयङ्कर रुप धारण गर्दछ
त्यसैले दिर्घकालीन शान्तिका लागि
अल्पकालीन युद्घ अनिवार्य हुन पुग्छ
फट्याङ्ग्राहरुलाई कमिलाको ताँतीले
विवश बनाएसरी
यस्तो शान्तिप्रेमी महाशक्ति देश
अस्ताउन बेर लाग्दैन ।