नरेश कुमार सुनुवार (नोकुल)
खिँचिकात-९ फोत, ओखलढुङ्गा
कृष्ण जी, तिमीलाई प्रश्न गर्छु ...
कुन भाषा बोल्छौ ?
कुन भाषा बुज्छौ ?
बहुभाषी हौ वा एकल ?
देवताको भाषा बोल्छौ कि मान्छेको ?
तिमी मानिस हौ कि देवता ?
यदि देवता हौ भने कस्का हौ
साधरण मान्छेको कि निरङ्कुश तानाशाहीको ?
यथास्थितिवादी एकल भाषीका देवता हौ कि
बहुभाषी समावेशी सोँच बोक्नेहरूको ?
वर्षौ भयो मेरो बोली बुझेनौं ।
तिम्रो अनुययीले जस्तै हारगुहार जति गरे पनि
तिम्रो दृष्टिमा म कहिल्यै उत्कृष्ट बन्न सक्दिन
कहिल्यै तिम्रो असल भक्त बन्न सकिन ।
मैले संस्कृत नजान्नु नै अभिषाप भयो ।
म कोइँच बन्नु नै अभिषाप भयो ।
मैले कोइँच भाषा बोल्नु नै अभिषाप भयो ।
कृष्ण जी, तिमीलाई प्रश्न गर्छु ..
तिमी कस्का भगवान् हौ
एकलजातिको कि बहुजातिको
एकल भाषीको कि बहुभाषीको ?