स्मिता मगर
रुकुम
एका समयमा
सुर-असुर कुरुक्षेत्रमा काटाकाट गरेको
मैले सुनेको छु.
सुरसँग हारेर असूर नर्कमा झरेको
भो, यस्ता कथा मलाई नसुनाऊ !
आँखा अगाडि मैले
मान्छे-मान्छे मारामार गरेको देखेको छु
मान्छेसँग मान्छे हारेको देखेको छु ।
बन्दुक बोकेर देखाएका
वीरताका कथाहरू
मैले पढेको छु
बारुदले भरिएका जोसिला
युद्घ-गीतहरू सुनाएर
मलाई नजिस्काउ ।
तिम्रो बारुदमा मैले
रित्तिएका काखहरूको चीत्कार सुनेको छु
फुटेका चुराहरूको रोदन सुनेको छु ।
ए, युद्घ रचयिताहरू हो !
धेरै भयो तिम्रो रचनामा
मलाई जलाउन खोजेको
डर-त्रास देखाइ म भित्र
रमाउन खोजेको
यता हेर !
ती स्वयम्भूका जीवन्त जोर आँखाले हेरिराखेको
र आफ्नो तेज प्रकाश छर्दै
चुपचाप हामीलाई भनिराखेको
कालो बादल हटाएर सूर्य नउदाएको कहाँ छ र ?
संसारभरि आफ्नो तेज प्रकाश छर्दै
म फेरी जन्मने छु तिमीभित्र ।
तिम्रो रगतमा मेरो रगत बगेको छ
तिम्रो आत्मामा मेरो आत्मा लुकेको छ
तिमीलाई खोज मात्र
निडर भएर खोज
निर्भिग्न भएर खोज
मैले तिमीभित्र बुद्घ जन्मिएको देखेको छु
मैले तिमीभित्र बुद्घ ब्यूँझिएको देखेको छु ।