बिष्णु श्रापित
बैनी - खियामा
भाइ - रैछाकुप्पा
तायामा-
वैंशालु रहरहरू
मालाथुम्किको गुराँस सजाएर
तिमीले तानको लयमा
सिलीको भाका गायौ
टुहुरो खियामा र रैछाकुप्पाको
दुधे पेटको लागि
तिमीले आफ्नो सपनाहरू
तानको धागो सँगै बुन्यौ
अनि, उनिहरूलाई
आफु सँगै
सिलि टिप्न सिकायौ
आज,
तिमीले रोपेको संस्कृतिहरू
हामिले हुर्काइरहेका छौं
तिमीले छाडेको पदचापहरू
हामिले पच्छाईरहेका छौं
कांगे ढाक्रो बनाउन
उभो लेकतिर
मालिंगो घारीमा रमाउने
मामा साफोक्नेलाई
तिमीले दुःख दिदाँ
तिमीले हराएछौ
तिमी पुरिएछौ
अनि त
नाना तायामाले
चाल पाएँ, र
मावलीको शीर उभ्याउनी
राखीदिए लैङासा
तिमी टुहुरो हुदाँ
तिमी नाबालक छदाँ
हेरचाह गर्ने
तिम्रो नानाहरूलाई
तिम्रो चेलीहरूलाई
तिमीले कसरी भुल्न सक्थ्यौ
त्यही खातिर
तिमीले तिम्रो विहेमा
उत्तर हिमाल तिर
उक्लेको खियामा
दक्षिण मधेस तिर
झरेको तायामा
दुवैलाई निम्तो डाक्यौ
र चेलीको विदाउँनीमा
बाटो खर्च
लगाई दियौ - खुर्बु
माला थुम्किको आकाशमा
हाम्रो प्रदेशको
मध्ये भू-भागमा
नितान्त हाम्रो प्यारो घाम
उज्यालो बोकेर उदाएको छ
त्यसैले-
माईती रैछाकुप्पा,
तिमीले छाडेको
ढ्यांग्रो, गजा र सिक्केहरू
चेली तायामा खियामाले छाडेको
तानको सायो र थरी
हामीले सिंगारेर राखेको छौ
फेरि पनि
तिमिहरू उत्साह बोकेर आउनु
हामी सबै मिलेर
माला थम्किमा तान बुनौं
मुन्धुम गाऔं
र, साकेलाको सिली गाउँदै
हामी एकपटक नाचौं ।
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)