हड्डी पेलेर, पसिना मुछेर
ऊ हुन्छ सदा नव-निर्माणमा
थाक्दैन तर हारेको हुन्छ
सहस्र कालको भोको मान्छे ऊ
जसले ठड्यायो गगनचुम्बी संसार
आफू चिसा छिँडी भोगीरहेछ आज
भोकले मुटु जलेको छ
ऐहशास दुखेको छ
बाँच्नलाई भोक पिनु छ
हाँस्नलाई शोक पिनु छ
खाएर जुठोपुरो आधा पेट
पानीले शान्त गरेन भोक
सल्किरहेछ झन पेट्रोलझैँ
ढुङ्गामूढा चपाएर
रसाएन देह सुकेको
पूरै भोकले गलेको छ
अस्तित्व ज्यूँदै ढलेको छ
कर्मवीर झुक्दैन तर लुटिएको हुन्छ
पानीले शान्त पार्न नसकेपछि
जुनीजुनीको विघ्न भोक निभाउन
उसलाई आगोको भोक लागेको छ
मान्छेलाई आगोको भोक लाग्छ कि अन्नको ?
पानीको प्यास लाग्छ कि आगोको ?
अन्नपानी नपाउँदा आफै सल्किदो छ ऊ
निल्न चाहन्छ आज दावाग्नि
वडवानल !
र, उकेल्न चाहन्छ तृप्तिपछि
पञ्चमहासिन्धू र सप्तमहादीप
ढाकेर त्यस्तो विशाल लप्का
जसले अतृप्त धरतीका
लाखौं भोकलाई तृप्ति दिँदै
कुहिएको विशाल-विषाक्त काँचुली
भष्मिभूत तुल्याउने छ एक दिन !
त्यसपछि पलाउने सुन्दर तहले
धर्तीमा नयाँ आवरण
फलाउने छ एक जुग !!
(बैराकवी)
बैतडी
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६७ मा \\\"तृतीय\\\" पुरस्कृत कविता)