रोशन श्रेष्ठ
धापासी-१,काठमाडौं
राष्ट्र सेवा, सपथका कुरा सबै भुल्यौ क्यारे
जनआन्दोलनका भावहरू सहिदका लाससँगै पुर्यौ क्यारे
कुर्सीका खेल खेल्नेहरू ! आमाको काख भुल्यौ क्यारे
गाउँका पाखा बाँजो छ, काठमाण्डौमा मात्रै फुल्यौ क्यारे
तिम्रा शब्दकोशका थागहरू, आजपनि नाङ्गै छन्
सडक, गल्ली छेउछँउ आकाश ओढेर सुतिरहेछन्
गाँस, बास, कपासका वाचा, कुर्सी मुनि हुल्यौ क्यारे
चुहिएको छानो टाल्नु छ, जिम्मेवारी भुल्यौ क्यारे
आज पनि रूँदैछन् झुपडी, भोकले कोक्याएका पेटहरू
भुल्यौ क्यारे रोएका आँखासँग चुनाव अघिका भेटहरू
राता चिल्ला कुदाउँदै हिँड्छौ, गोरेटो भन्ज्याङ भुल्यौ क्यारे
कश्मिरको स्याउ किनी खान्छौ, हुम्ला-जुम्ला भुल्यौ क्यारे
धमिरोले सिमाना खाँदैछ, यता कुर्सीको खेल चलिरहेछ
विदेशीको इसारामा नाँचिरहेछौ, आमाको अस्मिता जलिरहेछ
आमाको लाज जोगाउँनुछ, कर्तव्य आफ्नो भुल्यौ क्यारे
नक्सा च्यातेर भाग लाउँदैछौ रे, धर्म सबै पुर्यौ क्यारे
सहिदको सपना जनताको चाहना सबै सबै भुल्यौ क्यारे
नयाँ नेपाल र संविधानका कुरा सबै सबै भुल्यो क्यारे
बिन्ती केही नभुलिदेऊ दलदलमै नेपाल अल्झिएला
टुहुरा, विधवा, असहायका घाउ फेरि फेरि बल्झिएला ।