आस्मा विष्ट
वसुन्धारा काठमाण्डौ
हाँसो उठ्दछ गाँउछौ जब तिमी गाना बिना अर्थका
जे भन्छौ त्यसमा त लक्षण घटे साँच्चै दिवास्वाप्नका
तिम्रो नाटकको रहस्य सबले आद्यन्त जानेपछि ।
को पो बस्छ र मञ्चमा जब उसै पर्दा खसालेपछि ।।?।।
झोली थापीरहेछ आज दुनिया झर्ला कि केही भनी ।
हिँड्दै स्याल बनी सँधै पछि पछि झर्दैन केही पनि ।।
हेर्दै तन्नमबाट माग जति नै के के न पाइन्छ र ?
जाडोमा जति माग यो गगनले पानी कहाँ दिन्छ र ?
हाम्रो जीवनमा पुरिन्छ कहिले दुर्भाग्यको खाडल ?
जैल्यै धुम्मिनि हो कि फाट्छ पनि यो आकाशमा बादल ?
जे जे कोमलता थिए हृदयमा पाषाणमा बदलिए
बन्दाको बरु देख्छु भाउ गतिलो मान्छे भने सस्तिए ।।
लाऔ आज गले भन्यौ र तिमीले रोप्यौ घुमाइ हुरी ।
पाल्यौ सर्प दिएर दूध जहिल्यै मार्यौ उसै न्याउरी
तिम्रो त्यो धमिलो चरित्र कहिले सङलो हुने हो मन ।
बाँच्छौ पो कहिले सहर्ष मनले सद्भावको जीवन ।।
हाम्रो माग त यो खुला गगनमा निर्विघ्न उड्ने थियो ।
व्याधा जाल लिएर घुम्दछ सँधै झन् त्रास पो फैलियो ।
जस्तै चोट परे नि बस्छ दुनिया साँधेर यौ मौनता ।
चिन्ता व्याकुलता बढ्यो मुलुकको देखेर बीभत्सता ।।।