Mar 15 2010 Monday सम्वाददाता बगैंचा डटकम्
फाल्गुन २९ गते २०६६, काठमाण्डौं ।
आरोहणको आयोजनमा हरेक महिनाको अन्तिम शनिवार निरन्तर आयोजना गरिदै अएको \"कविता यात्रा\" कार्यक्रम आज गुरूकुलमा सम्पन्न भएको छ । यस पटकको कविता यात्रा अन्तरगत सृजनशील अराजक आन्दोलनका वाहक मध्येका एक अभियन्ता कवि राजन मुकारूङको एकल कविता वाचन गरिएको थियो ।
दिनको १५०० बजे सुरू भएको सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नारायण ढकाल हुनुहुन्थ्यो । कवि ठाकुरवेलवासेद्वारा सन्चालित कार्यक्रममा रङ्गवादी अभियन्ता कवि धर्मेन्द्र विक्रम नेम्वाङले कवि राजन मुकारूङको बारेमा प्रकाश पार्नुभएपछि कवयत्री प्रगति राईबाट \"प्रिय झण्डा\" शिर्षकको कवितबाट कविता वाचन सुरू भएको थियो। कवि राजन मुकारूङले कोलम्बसहरू, आदिवासीको तस्वीर, चौथो पीडा, इमेल वोध, रातो भयावह, जीवनको विद्रोह, भट्टी पसलमा, खोला, बन्दुकको कविता, वाच्नुको अहाल, नयाँ घोषणा, म मुन्दुम गर्दैछु, झरी पर्दा, साईवर पुस्तासँग, देशसँग, ह्वाइट हाउसमा सम्मानित हुँदा शिर्षकका नयाँ पुराना गरि लगभग डेड दर्जन कविता सुनाउनु भएको थियो भने जंगलको गीत शिर्षकको कविता कवि चन्द्रवीर तुम्बापोबाट वाचन भएको थियो । आयोजक अरोहण तथा सह-आयोजक सर्वदा र स्रष्टा चैत्र ३० थिए र मिडिया पाट्नरमा उज्यालो ९० नेटवर्क र इमेज न्यूज एफ एम रहेका थिए भने बगैंचा डटकमबाट लाइभ अपडेट गरिएको थियो ।